निर्माता एवं निर्देशक सन्तोष सेन र अभिनेता अनमोल केसीबीच फिल्ममा सहकार्य हुने भएको छ। दुई जनाबीच लिखित सम्झौता नभए पनि सहकार्य गर्ने विषयमा सहमति भएको सन्तोषले बताए।
सन्तोष र अनमोलबीच केही साताअघिको भेटमा भएको छलफलपश्चात सहकार्यका लागि सहमति भएको हो। 'उहाँ पनि हामीसँग सहकार्य गर्न पहिल्यैदेखि ईच्छुक हुनुहुन्थ्यो। हामी पनि ईच्छुक थियौं,' सेनले भने, 'हामीले यसअघि सहकार्य गर्न खोजे पनि विभिन्न कुराहरूले जुरेको थिएन्। अब भने एउटा पिरियड ड्रामामा सहकार्य गर्ने सहमति भएको छ।'
अनमोल यतिबेला आफ्नो आगामी फिल्म 'फर्की फर्की' प्रमोसनमा व्यस्त छन्। यो फिल्म जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ। यसपछि उनी 'जेरी २' को छायांकनमा व्यस्त हुनेछन्।
यता, सन्तोष सेनले असार पहिलो सातादेखि फिल्म 'बलिदान' को छायांकन सुरू गर्दैछन्। यसपछि अनमोललाई लिएर फिल्मको काम अगाडि बढाउने सन्तोषको योजना छ।