टेलिभिजन कमेडी शो 'कमेडी दरबार' असारदेखि प्रसारणमा आउने भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच शोको प्रोमो सार्वजनिक गर्दै प्रसारण मितिबारे जानकारी दिइएको छ।
असार १४ गतेदेखि प्रत्येक शुक्रबार राती ९ बजे प्राइम टाइम टेलिभिजन र ओएसआर डिजिटलबाट शो प्रसारणमा आउने भएको हो। यो शोलाई बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्नेछन्। बिक्कीले यसपटक शोमा आफू नदेखिने र निर्देशन मात्र गर्ने बताए।
सार्वजनिक प्रोमोमा कमेडी दरबारका कलाकारहरूको लुक्स सार्वजनिक गरिएको छ। शोमा महारानीको भूमिकामा देखिँदै गरेकी अभिनेत्री गौरी मल्लले कमेडीको क्षेत्रमा नयाँ सोँच भएका युवाहरूसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्। उनले यो शोमा दर्शकले फरक स्वाद पाउने धारणा राखिन्।
शोमा उनीसँगै अभिनेता विजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पवित्रा साँकी (मिस पबि)सँगै कमेडियनहरू हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल, उत्सव सापकोटा लगायत देखिँदैछन्।
कार्यक्रममा चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले कमेडीको दुनियाँमा अर्को नयाँ शो थपिँदा आफूलाई निकै खुसी लागेको बताइन्।
कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफूहरूसँगै काम गरेका भाईहरूले नयाँ शो ल्याउँदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए।
पत्रकार ऋषी धमलाले 'कमेडी दरबार' लाई प्राइम टाइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागी खुसीको कुरा भएको बताए।
टेलिभिजनका सिईओ विकास लामिछाने, प्रबन्ध निर्देशक एलिजा गौतम, ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओम अग्रवाल, सुमित्रा थापा लगायत समेत कार्यक्रममा उपस्थित थिए। शोको कलाकार व्यवस्थापन तथा मिडिया संयोजनको भूमिकामा गोपीकृष्ण चापागाईं छन् भने क्रिएटिभ प्रमुखमा विकास अर्याल र प्रोडक्सनमा आयुष लुईँटेल छन्।
माया इन्टरटेन्मेन्ट स्टुडियोले शोलाई प्रस्तुत गर्न लागेको हो।
'कमेडी दरबार' पारिवारिक कमेडी शो हुने र आइरहेका भन्दा फरक फर्माटमा ल्याइने बिक्कीले बताएका छन्। उनले यसअघि 'आम्मा कसम याँ दुख्छ' को होस्टसँगै 'कमेडी क्लब विथ च्याम्पियन' को निर्देशन पनि गरेका थिए।