सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म 'रावायण' का तीन गीतलाई भारतमा रेकर्ड गरिएको छ।
फिल्मको शीर्षसहित रोमान्टिक र आइटम गीत मुम्बईमा रेकर्ड गरिएको हो। जसमध्ये शीर्ष गीतमा गायक नकाश अजिजको स्वर छ। उनले बलिउड फिल्म 'बजरंगी भाइजान' को 'सेल्फी ले ले रे', 'फेन्टम' को 'अफगान जलेबी', 'आर राजकुमार' को 'सारी के फल से', 'ट्युबलाइट' को 'नाँच मेरी जान' र 'उचाइँ' को 'केटीको' लगायतका गीतमा स्वर दिएका छन्।
त्यस्तै रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ। उनले बलिउड फिल्म 'मर्डर' को 'भिघे ओठ तेरे', 'पार्टनर' को 'दुपट्टा तेरा', 'शीसा' को 'यार को मेने', 'काल' को 'काल धमाल', 'धुम' को 'सलामे' लगायतका चर्चित गीतमा स्वर दिएका छन्।
त्यस्तै आइटम गीतमा गायिका सोनु कक्करको स्वर छ। उनले गाएका बलिउड फिल्म 'दम' को 'बाबु जी जरा धिरे चलो', 'ब्लु' को 'ब्लु थिम', 'जिष्म २' को 'ये कसुर', 'क्वीन' को 'लण्डन' लोकप्रिय छन्।
तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ। संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर, वाद्यवादक हुन्।
भारतीय चर्चित संगीतकार कैलाश खेरको स्टुडियोका संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियर निरज २० वर्ष बढी समयदेखि बलिउडमा संगीत क्षेत्रमा सक्रिय छन्।
फिल्मका निर्देशक सुदर्शन थापाले गीतको अधिकांश काम भारतमा गरिएको बताए। 'हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायक गायिकमार्फत गीत रेकर्ड गरेका हौं। जसले गर्दा संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ', उनले भने।
अहिले सर्लाहीमा छायांकन भइरहेको फिल्म 'रावायण' मा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायत कलाकारहरूको अभिनय रहनेछ।
शिवम अधिकारीको लेखन रहेको फिल्ममा विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन, सौरभ लामाको छायांकन रहनेछ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भइरहेको फिल्मको निर्माता सुदर्शन र पूजा हुन्। यो फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
तीजको अवसर पारेर भदौ २१ गतेदेखि फिल्म प्रदर्शनमा आउने छ।