यतिबेला सिरियल, गीतदेखि फिल्मको ट्रेलरसम्म युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छन्।
युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा सामाजिक सिरियल 'बुहारी' छ। यसको पछिल्ला दुई एपिसोड लोभलाग्दो भ्युजका साथ ट्रेन्डिङको पहिलो र दोस्रो नम्बरमा देखिएका छन्।
१७५ एपिसोड बिहीबार दिउँसोसम्ममा ३३ लाख भ्युजका साथ ट्रेन्डिङको शीर्ष स्थानमा छ। अघिल्लो एपिसोड ४३ लाख भ्युजका साथ दोस्रो स्थानमा छ।
रामचन्द्र बोहराको लेखन एवं निर्देशन रहँदै आएको यो सिरियलमा उनीसँगै अनिता बैजु, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रसन्न कार्की, विजय देउजा, लक्ष्मण विक्रम बस्नेत, विद्या कार्की, महेशजंग थापा, सरिता राजोपाध्याय, अन्जु हमाल लगायतको अभिनय रहँदै आएको छ।
केही साता अघिसम्म युट्युबमा मात्र प्रसारणमा आउने सिरियल यतिबेला टेलिभिजनमा समेत हेर्न सकिन्छ।
युट्युबको यो खण्डमा शीर्ष २ पछि भने छोटा भिडिओहरू देखिएका छन्।
यस्तै, संगीततर्फ ट्रेन्डिङको शीर्षस्थानमा अर्जुन सापकोटा र शान्तिश्री परियारको स्वर रहेको गीत 'बस्यौ अलक्कै' छ।
यो गीतलाई ५ दिनमा ४ लाख ३० हजार बढी पटक हेरिएको छ। अर्जुन सापकोटा र गरिमा शर्माको अभिनय रहेको यो गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। विशाल घिमिरे भिडिओका निर्देशक हुन्।
संगीततर्फ दोस्रो स्थानमा र्यापर भिटेनको गीत 'डन्ट जज मि' छ। यो गीतलाई १८ लाख पटक हेरिएको छ। तेस्रो नम्बरमा १२ दिनअघि सार्वजनिक उर्गेन दोङ र अन्नु चौधरीको स्वर रहेको गीत 'झुमा' छ। उर्गेनसँगै विजय दोङ, रवि लामा, तब्बु वाइबा भिडिओमा प्रस्तुत रहेको गीतलाई ५ लाख ९० हजार पटक हेरिएको छ।
ट्रेन्डिङमा फिल्मतर्फ शीर्षस्थानमा 'पुजार सार्की' को ट्रेलर छ। जसलाई ८ दिनमा १७ लाख ५० हजार पटक हेरिएको छ।
यही जेठ १० गतेदेखि फिल्म प्रदर्शनमा आउने यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परिक्षा लिम्बु लगायतको अभिनय छ। फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्।
फिल्मतर्फको ट्रेन्डिङमा दोस्रो नम्बरमा हिन्दी छोटो भिडिओ छ भने तेस्रो नम्बरमा प्रदर्शनरत फिल्म 'मनसरा' को ट्रेलर छ। त्यस्तै, चौथो नम्बरमा असारमा प्रदर्शनमा आउने फिल्म 'घरज्वाइँ' को टिजर देख्न सकिन्छ।
'बुहारी' सिरियलको पछिल्लो एपिसोड
'बस्यौ अलक्कै' गीतको भिडिओ
'पुजार सार्की' को ट्रेलर