पेशाले इञ्जिनियर रवि काफ्ले कलाकारका रूपमा दर्शकमाझ आउँदैछन्।
आउँदो बिहीबारदेखि प्रदर्शनमा आउने फिल्म 'फर्की फर्की' मा उनले अभिनेता अनमोल केसीको साथीको भूमिका निर्वाह गरेका छन्।
रविका अनुसार फिल्ममा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोजे उसलाई सम्झाउने किसिमको छ। 'अनमोलको पात्र म्याडीलाई सम्हाल्ने चरित्र छ,' उनले भने, 'फिल्ममा अभिनय गर्ने बाल्यकालदेखिको इच्छा थियो। सुरूमै स्थापित नामसँग जोडिएर काम गर्न पाउँदा झन बढी खुशी छु।'
फिल्म रिलिज मिति नजिकिँदै गर्दा रवि उत्साहित र नर्भस छन्। उनले भने, 'हाम्रो फिल्म विश्वभरका दर्शकले एकसाथ हेर्दै हुनुहुन्छ। मेरो पात्रप्रति प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता छ। आफ्नो पनि इच्छाको क्षेत्र र यस्तो गर्न पाए हुन्थ्यो भन्ने सपना पूरा हुँदा चाहिँ मलाई एकदमै खुशी लागेको छ।'
आफ्नो साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङको सम्पर्कमा आएका रवि अडिसन दिएपछि 'फर्की फर्की' का लागि छानिएका हुन्।
उनी पेशाले इञ्जिनियर भए पनि केही वर्ष अघिदेखि विज्ञापन कम्पनीमा क्रिएटिभ डिपार्टमा काम गर्थे। कम्पनीमार्फत बनाइएका म्युजिक भिडिओमा उनले अभिनय गरे। उनले भने, 'विज्ञापन कम्पनीमा जोडिएपछि अभिनयदेखि अन्य प्राविधिक विषयमा ज्ञान लिएँ। जसले गर्दा फिल्ममा काम गर्न सजिलो भयो।'
उसो त उनी अनमोलसँग अभिनय गरिरहँदा केही नर्भस पनि भएका रहेनछन्। 'म नयाँ मान्छेसँग गफ गर्न, आइडिया शेयर गर्न रुचाउँछु। अनमोल फिल्म क्षेत्रमा ठूलो नाम हो। ऊसँग स्क्रिन शेयर गर्न पाउँदा नर्भस थिएँ। किनकी स्थापित नामसँग एउटा सम्मान हुन्छ। उसमा अनुभव हुन्छ। केही कुरा सिक्न पाउछु भन्ने हुन्छ,' रविले भने।
फिल्मका मुख्य कलाकार सहयोगी भावनाका भएकाले एकअर्कालाई बुझ्ने, हाँसो ठट्टा गर्ने, रमाइलो गर्ने भएपछि सजिलो भएको रविले बताए। अनमोलको सपोर्टले पनि आफूमा भएको 'नर्भसनेश' हराएको रविले सुनाए।
उनको बुझाइमा 'फर्की फर्की' युवाहरूको कथा हो। फिल्म हेर्न आउने दर्शकले हरेक क्यारेक्टर रिलेट गर्ने उनको भनाई छ। ‘किनकि उहाँहरूको जीवनमा साथी र परिवार हुन्छ। उहाँहरूसँग हाम्रो आ–आफ्नो सम्बन्ध हुन्छ। त्यो सम्बन्ध भित्रको उतारचढावहरू छन्। उतारचढावका बाबजुद पनि जीवन कसरी अगाडि बढ्छ भन्ने कुरा फिल्ममा देखाइएको छ,' उनले भने।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म 'फर्की फर्की' मा अनमोल केसी, जसिता गुरूङ, रवि काफ्ले र समृद्धि अर्याल शीर्ष भूमिकामा छन्।
रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। फिल्म बुद्ध जयन्तीको अवसर जेठ १० गतेदेखि नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि एकसाथ प्रदर्शनमा आउन लागेको छ।