नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ओपनिङ फिल्मका रुपमा नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटाे' देखाइने भएको छ।
अमेरिकाको मेरिल्याण्डमा आयोजना हुँदै आएको महोत्सवमा ओपनिङ फिल्मको रूपमा जुन २० मा 'गाउँ आएको बाटो' स्क्रिनिङ हुने भएको हो।
जेठ २५ गतेदेखि नेपाल र डायस्पोरामा रिलिज हुन लागेको फिल्मले सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ।
फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा फिल्मले पेश गर्छ। आमोद राई फिल्मको निर्माता हुन्।
त्यस्तै, महोत्सव समापन फिल्मको रूपमा 'द रेड सुटकेस' स्क्रिनिङ हुने भएको छ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।
वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो फिल्मले उत्कृष्ट समीक्षा पाएको छ। फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठ र प्रविण खतिवडा शीर्ष भूमिकामा छन्।
महोत्सवको पूर्ण लाइनअप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले बताए। महोत्सवको यसवर्षको संस्करण जून २० देखि २३ (असार ६ देखि ९) सम्म आयोजना हुँदैछ।
सन् २०१७ देखि यो महोत्सव आयोजना हुँदै आएको छ।