'स्टोरीटेलर' अर्थात् 'कथावाचक' को रूपमा युवा पुस्तामाझ चर्चित साइग्रेस पोखरेलको अडिओ उपन्यास 'अधुरो प्रेम' मा आधारित रहेर फिल्म बन्ने भएको छ।
शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित 'वर्ड टुर विथ साइग्रेस' को ६० औं शृंखलामा साइग्रेस आफैले फिल्मको घोषणा गरे। घोषणासंगै यसको थिम पोस्टर पनि सार्वजनिक गरियो।
यस फिल्मको शीर्षक पनि अडियो उपन्यासको नामबाट नै राखिएको छ।
फिल्म 'अधुरो प्रेम' लाई शिशिर खातीले निर्देशन गर्नेछन्। यसअघि फिल्म 'रंगेली' बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले यसलाई निर्माण गर्ने तय भएको छ। कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी छन्।
साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडिओ उपन्यास 'अधुरो प्रेम' हालसम्म ६२ लाखभन्दा बढी पटक सुनिएको छ। यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौँ पटक सुनिएको छ।
एक हजार बढी दर्शकमाझ आयोजित कार्यक्रममा फिल्म घोषणा अघि साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए।
उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले यो अडियो उपन्यास तयार पारेको बताए। उनले यो उपन्यासमा आधारित रहेर सुजन चापागाईँ र उनको टिमले गीत तयार पार्ने घोषणा समेत गरे।
आफ्नो कथामा फिल्म बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए। उनले भने, 'यो सम्भव भएको पनि तपाईँकै कारणले हो। म केही छु भने यो तपाईँको प्रेमले हो। यो फिल्म बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो।'
पहिलो पटक फिल्म निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यानमध्ये एक रहेको बताए। उनले धेरै महिनाको प्रयासपछि आफूले साइग्रेसलाई भेटेर आफ्नो कुरा राख्न सफल भएको बताए। 'लगातार सात–आठ महिनादेखि उहाँलाई भेटने कोशिस गरिरहेको थिएँ। तर सकेको थिएन्। एकदिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ। भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो। म आज तपाईँसामु जसरी बोलिरहेको छु। २०८२ सालमा चलचित्र रिलिजपछि पनि बोल्ने हिम्मत हुने गरी फिल्म बनाउनेछु,' शिशिरले भने।
शिशिरले दर्जनौं म्युजिक भिडियोहरू र फिल्मका गीतमा कोरियोग्राफी गरेका छन्।
कार्यकारी निर्माता सुवेदीले यसअघि चलचित्र ‘रंगेली’ निर्देशन गरेका थिए। ‘अधुरो प्रेम’ लाई वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको छ।
कलाकार र अन्य टिमको विषयमा भने टुंगो लागिसकेको छैन।