अभिनेता विराज भट्टको फिल्म '१२ गाउँ' को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान ललितपुरको हात्तीबनमा फिल्मको मुहूर्त गरिएको हो।
योसँगै छायांकन पनि सुरू भएको फिल्मका अभिनेता, निर्माता एवं निर्देशक विराज भट्टले बताए।
मुहूर्तमा विराजसहित फिल्मका मुख्य कलाकारहरू समीर भट्ट, सनिशा भट्टराई, न्यान्सी खड्का, कनिज कोइराला लगायत उपस्थित थिए।
फिल्ममा विराज स्वयं शीर्ष भूमिकामा देखिँदैछन्। उनका छोरा समीरले पनि यसमा मुख्य भूमिकामा अभिनय गर्दैछन्। फिल्ममा आउनुअघि उनले भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइसकेका छन्।
त्यस्तै, म्युजिक भिडिओमा रूचाइएकी मोडल सनिशा भट्टराईले '१२ गाउँ' बाट डेब्यु गर्न लागेकी हुन्।
मिस नेपाल इन्टरनेशनल– २०२२ न्यान्सी खड्काले पनि यही फिल्मबाट फिल्मी करिअर सुरू गर्न लागेकी हुन्।
साउथका थुप्रै फिल्ममा अभिनय गरेका कनिज कोइरालाको पनि यसमा शीर्ष अभिनय रहनेछ।
शुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको पनि यो फिल्ममा अभिनय रहनेछ।
काठमाडौं र आसपाससहित विरगञ्ज, हेटौंडा लगायतका स्थानमा फिल्म खिच्ने तयारी छ। महेश पौडेलले फिल्मलाई छायांकन गर्नेछन्।
फिल्मको कथा एवं पटकथा सन्तोष सरकारले लेखेका हुन्। साउथमा सुपरिचित द्वन्द्ध निर्देशक सिल्भा मास्टरले यसमा द्वन्द्ध निर्देशनको काम गर्नेछन्।
एक्सन-थ्रिलर जनरामा यो फिल्म बन्न लागेको हो। यसमा उच्चस्तरको एक्सन पस्किनका लागि सक्दो मेहनत गर्ने विराजले बताएका छन्।