अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले बनाएको फिल्म 'ह्रस्व दीर्घ' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
अभिनेत्री विपना थापा र साउथ अभिनेता प्रदीप रावतलाई प्रस्तुत गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरमा अभिनेता रावत फुलेको झुस्स दाह्रीमा छन्। चन्दन र रूद्राक्ष माला लगाएका उनी धार्मिक गुरूजस्तो देखिएका छन्। त्यस्तै, कालो पहिरनमा देखिएकी विपना थापा आश्चर्य भावमा छिन्।
हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको 'ह्रस्व दीर्घ' लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। फिल्ममा नेपालीसँगै भारतीय चर्चित कलाकारहरूको अभिनय छ।
नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय गरेका छन्।
भारतीय कलाकारमा प्रदीपसँगै ब्रह्मानन्दमसहितका कलाकारहरूको अभिनय छ।
नेपाल र भारतमा खिचिएको फिल्मलाई कबीर लालले छायांकन गरेका छन्।
नेपाली र तेलुगू भाषामा बनेको फिल्म दसैंको अवसर पारेर आउँदो असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।