आर्टमाण्डुको फिल्म 'ऊनको स्वीटर' को छायांकन सुरू गर्ने तयारी गरिएको छ।
जेठ २५ गतेदेखि छायांकन सुरू हुने निर्देशक नवीन चौहानले बताए। फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ।
फिल्मको उपत्यका र मोफसल वितरणका लागि वितरकहरूसँग सम्झौता समेत भएको छ। निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रालिसँग सम्झौता गरेको हो।
फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री मिरूना मगरको मुख्य अभिनय रहने छ। ‘ऊनको स्वीटर’ निर्देशक चौहानको पहिलो फिचर फिल्म हो।
फिल्ममा विपीन र मिरूनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रूपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीलगायत कलाकारको अभिनय रहने छ।
फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज कटुवालले गरेका छन्। फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्का छन्।
फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। गीतमा हर्क साउदको शब्द रचना रहनेछ। झुमा लिम्बुको पनि एउटा गीत रहेको छ।
चिन्तनराज भण्डारीले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। फिल्ममा सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्ममा काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन्।
यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।