अभिनेत्री प्रियंका कार्की र अभिनेता भुवन केसी भारतको 'दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२४' बाट सम्मानित हुने भएका छन्।
नेपाली फिल्म क्षेत्रमा पुर्याएको योगदानस्वरूप उनीहरूलाई यो अवार्ड दिन लागिएको हो। प्रियंकाले नेपालका लागि उत्कृष्ट अभिनेत्री र भुवनले नेपालका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाउन लागेका हुन्।
दादासाहेब फाल्के फिल्म फाउन्डेसनले आयोजना गर्ने अवार्ड यही ३० मे मा मुम्बईमा आयोजना हुँदैछ।
फाउण्डेसनले प्रियंका र भुवन दुवै जनालाई पत्राचार गर्दै अवार्डका लागि छनोट भएको जानकारी दिएको छ।
'दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३' बाट नेपालका लागि पहिलो पटक निर्देशक आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर सम्मानित भएका थिए।
फाउण्डेसनले यसपटक नेपालको तर्फबाट अवार्ड सिफारिसका लागि निर्देशक आकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति गठन गरेको थियो।
प्रियंकाले अवार्ड पाउन लागेकोमा खुशी लागेको बताउँदै मे २९ मा आफू मुम्बईतर्फ जाने बताइन्। त्यस्तै, भुवनले पनि भारतको अवार्डका लागि सिफारिस हुनु खुशीको कुरा रहेको बताए।
-यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ।