अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य अभिनय रहेको फिल्म 'खुस्मा' को छायांकन सकिएको छ।
एक गीत बाहेकको बाँकी सम्पूर्ण छायांकन ४० दिनमा सकिएको निर्माण टिमले जनाएको छ। टिमका अनुसार बाँकी रहेको गीतको छायांकन केही समयपछि गरिने छ।
यो फिल्मलाई दुई चरणमा खिचिएको हो। पहिलो चरणमा मनाङमा र दोस्रो चरणमा पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा छायांकन गरिएको थियो।
मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमलाई देखाउने लेखक एवं निर्देशक अशोक थापा मगरले बताए।
यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरका थापाको यो पहिलो निर्देशकीय फिचर फिल्म हो।
फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर लगायतका कलाकारहरूको अभिनय छ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्। सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्। मोहन राई कार्यकारी निर्माता रहेको फिल्मलाई दिपक बज्राचार्यले छायांकन गरेका हुन्।
फिल्मलाई असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने जनाइएको छ।