दीपकराज गिरी र दीपाश्री निरौला आगामी फिल्म 'छक्का पञ्जा ५' को छायांकन सुरू गर्ने तयारीमा जुटेका छन्।
सेतोपाटीसँगको कुराकानीमा निर्माता एवं अभिनेता दीपकले फिल्मको छायांकन यसै सातादेखि सुरू गर्न लागिएको बताए। 'बिहीबारदेखि छायांकनमा निस्किँदैछौं,' उनले भने, 'अहिले त्यसको लागि तयारी गर्दैछौं।'
'छक्का पञ्जा' का तीनवटा शृंखलामा दीपाश्री निरौलाको निर्देशन रहेकोमा चौथो शृंखलालाई हेमराज बिसीले निर्देशन गरेका थिए। 'छक्का पञ्जा ५' लाई भने दीपाश्री निरौलाले निर्देशन गर्ने दीपकले बताए।
फिल्मको कथावस्तुबारे भने केही खुलाइएको छैन। कलाकारका रूपमा दीपकराज र केदार घिमिरे 'माग्ने बुढा' तय छन्। अन्य, कलाकारबारे पनि जानकारी दिइएको छैन। फिल्मबारे छिट्टै विस्तृत जानकारी दिइने दीपकले बताए।
फिल्मलाई यस वर्षको दसैंमा प्रदर्शनमा ल्याइने जनाइएको छ।
'छक्का पञ्जा' का यसअघिका सबै शृंखलाले बक्स अफिसमा सुपरहिट व्यापार गरेका छन्।