गत बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका फिल्म 'पुजार सार्की' र 'फर्की फर्की' दुवैले हलमा दर्शकको साथ पाइरहेका छन्।
प्रदर्शनको पाँचौं दिनमा पनि फिल्मको अकुपेन्सी सुखद् देखिएको छ। 'पुजार सार्की' का वितरक रोहित कट्टेलले सोमबार पनि धेरै शो हाउसफुल रहेको बताए। 'फिल्मको बुकिङ र डोर सेल दुवै राम्रो देखिएको छ,' उनले भने।
फिल्मको कलेक्सन रिपोर्ट भने बिहीबार सार्वजनिक गरिने उनले बताए। एक साताभरको कलेक्सन विवरण एकैपटक सार्वजनिक गर्ने आफूहरूको तयारी रहेको उनले बताए।
जातीय विभेदविरूद्ध समाजका पात्रले गर्ने संघर्षको कथामा बनेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। यसमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहसहित अभिनेत्री अञ्जना बराईली र परीक्षा लिम्बू मुख्य भूमिकामा छन्।
विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता सुवास भुसाल हुन्।
फिल्मलाई आइतबार जापानमा पनि प्रदर्शन गरिएको थियो। जहाँ यो फिल्म हेर्न दर्शकको भिड लागेको थियो। त्यहाँका भिडभाडका तस्बिरलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ।
त्यस्तै, 'फर्की फर्की' का वितरक गोविन्द शाहीले पनि फिल्मले सबैतिर राम्रो व्यापार गरिरहेको बताए। 'आइतबार पनि फिल्मले धेरैतिर हाउसफुल व्यापार गरेको थियो। सोमबारको अकुपेन्सी पनि राम्रो छ। धेरै शो हाउसफुल भएका छन्,' उनले भने।
उनले सबै हलबाट कलेक्सनको विवरण नआइसकेकाले सार्वजनिक नगरिएको बताए। सोमबार बेलुकासम्ममा कलेक्सनको विवरण आएपछि सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।
उनले फिल्मको चार दिन (बिहीबारदेखि आइतबार) सम्मको ग्रस कलेक्सन ३ करोड ५० लाख हाराहारी पुगेको हुनसक्ने अनुमान गरे। अस्ट्रेलिया र न्यूजिल्याण्डमा फिल्मले चार दिनमा १ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको यसका निर्माता रोहित अधिकारीले बताएका छन्।
'टाइम लुप' को फरक कथा, लभस्टोरीसँगै एक्सन समेत समावेश 'फर्की फर्की' लाई सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्। यसमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङसहित डेब्यु कलाकार रवी काफ्ले र समृद्धि अर्याल मुख्य भूमिकामा छन्।
मंगलबार गणतन्त्र दिवसको बिदा परेकाले त्यसको फाइदा पनि 'फर्की फर्की' र 'पुजार सार्की' दुवै फिल्मले उठाउने देखिन्छ।