नेपाली चलचित्र क्षेत्रको नामाकरणबारे चलचित्र विकास बोर्डमा छलफल भएको छ। बोर्डले सोमबार फिल्म सम्बद्ध विभिन्न संस्थालाई बोलाएर नामाकरणबारे छलफल गरेको हो।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार सिनेमाण्डु, कान्तिपुर फिल्मस् र हिमालय फिल्मस् गरी तीन नाममा छलफल भएको थियो।
छलफलमा सिनेमाण्डु नाममा सहमति जुटेको उनले बताए।
सो नाम विकास बोर्ड बैठकले अनुमोदन गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने बोर्ड अध्यक्ष भुवन केसीले बताए। उक्त नामलाई मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ।
मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि नेपाली चलचित्र क्षेत्रले आधिकारिक रूपमा नाम पाउनेछ।