निर्माण तयारीमा रहेको फिल्म 'पूर्ण बहादुरको सारंगी' मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्। 'महापुरूष' बाट डेब्यु गरेकी अञ्जना अभिनीत पछिल्लो फिल्म 'पुजार सार्की' यतिबेला हलमा लागिरहेको छ।
'पूर्ण बहादुरको सारंगी' यही जेठ २१ गतेबाट छायांकनमा जाने तयारीमा छ। अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले यसलाई निर्माण गर्न लागेको हो।
मौलिक कथामा निर्माण हुन लागेको फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ।
फिल्ममा यसअघि गायक तथा कलाकार प्रकाश सपूत, अभिनेता मुकुन भुसाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन्।
कलाकारहरूको भूमिकाको बारेमा भने केही खुलाइएको छैन। अहिलेसम्म अनुबन्धित भएका सबै कलाकारहरूलाई शीर्ष भूमिकामा देख्न सकिने निर्माता विनोद पौडेलले बताए।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्।
महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ।
यो फिल्मलाई आउँदो वर्ष प्रदर्शनमा ल्याइने जनाइएको छ।