शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'गाउँ आएको बाटो' को पहिलो गीत सार्वजनिक गरिएको छ।
'राई माइला' बोलको गीतमा सुनिता थेगिमको स्वर, काली प्रसाद बास्कोटाको संगीत तथा श्रवण मुकारूङको शब्द रचना छ।
भिडिओमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई प्रस्तुत गरिएको छ। गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ। यो गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्।
नवीन सुब्बाको निर्देशन रहेको ‘गाउँ आएको बाटो’ ले पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबु–छोराको सम्बन्धमा नव निर्मित बाटोले ल्याएको उतार–चढावको कथा प्रस्तुत गर्छ। 'नुमाफुङ' बनाएर फरक धारका फिल्मका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो फिल्म हो। यो फिल्मले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागिता जनाइसकेको छ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्। फिल्मको पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन्। फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन्।
विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रापछि 'गाउँ आएको बाटो' घरेलु दर्शकमाझ आउन लागेको हो।