अभिनेता राजबल्लभ कोइराला एक दशकपछि फिल्मको छायांकन सेटमा फर्किएका छन्।
आइतबार बिहान अमेरिकाबाट नेपाल आइपुगेका उनले सोमबारदेखि फिल्म ‘एक्टर’ को छायांकन सुरू गरेका हुन्।
काठमाडौंको बुढानिलकण्ठमा रहेको एक होटलबाट फिल्मको दोस्रो चरणको छायांकन सुरू भएको निर्माता थमन भण्डारीले जानकारी दिए।
सोमबार फिल्मका प्रायः सबै शीर्ष कलाकारहरूको दृश्य छायाँकन भइरहेको छ। राजबल्लभसहित प्रदीप खड्का, दिव्य देव, सुशील सिटौला, आना शर्मा, दीव्या रायमाझी, प्रदीपकुमार चौधरीलगायत कलाकारहरूको छायांकन भइरहेको हो।
राजबल्लभले लगातार १५ दिनसम्म फिल्मको छायांकन गर्नेछन्। यो फिल्ममार्फत उनी १० वर्षपछि कमब्याक गर्न लागेका हुन्। उनको पछिल्लो फिल्म '६ एकान ६' हो।
राजन भुसाल निर्देशित 'एक्टर' लाई आकाश बरालले लेखेका हुन्। फिल्मलाई पहिलो चरणमा पोखरामा १० दिन खिचिएको थियो।
अब काठमाडौंका फरक–फरक लोकेसनमा १ महिनासम्म लगातार छायांकन गरिने जनाइएको छ। अभिनेता दीलिप रायमाझीकी छोरी दीव्याले यही फिल्ममार्फत डेब्यु गर्दैछिन्।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुति रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरिरहेका छन्। फिल्मको प्रदर्शन मिति कात्तिक १५ गतेलाई तय गरिएको छ।