यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'गाउँ आएको बाटो' को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली इटालीबाट काठमाडौं आइपुगेकी छिन्।
नवीन सुब्बाको निर्देशन रहेको यो फिल्ममा हाइडीले संगीतको काम गरेकी छन्।
यसअघि फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी उनी त्यसअघि अनुसन्धानको लागि नेपाल आएकी थिइन्।
सोमबार काठमाडौं आएकी उनको यो तेस्रो नेपाल यात्रा हो।
हाइडीले राई संस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन्। फिल्मको छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन्। फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पाश्र्व ध्वनी निर्माण गरेको हाइडीको भनाइ छ।
आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित रहेको बताउँदै उनले भनिन् 'यो फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखायौं। यो फिल्म जुन देशको हो, अहिले यही देशमा प्रदर्शनको तयारीमा छ । म यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु।'
विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रापछि घरेलु दर्शकमाझ आउन लागेको 'गाउँ आएको बाटो' मा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई मुख्य भूमिकामा छन्।
आमोद राई र नवीन सुब्बा फिल्मको निर्माता हुन्।