एक समयको चर्चित हास्य सिरियल 'जिरे खुर्सानी' मा अभिनय गरेर बाल्यकालमै चर्चामा आएका कलाकार हुन् इशान राउत।
जितु नेपालले निर्देशन गरेको सिरियलमा 'जिरे' को भूमिकामा उनी झण्डै ३ सय भागसम्म निरन्तर देखिए। दर्शकले पनि इशानको अभिनयलाई निकै रूचाए। सिरियलमा निर्वाह गरेको भूमिकाको नामले नै उनी चिनिए।
इशान बाल्यकालमै फिल्मतिर पनि व्यस्त बन्न पुगे। 'आफ्नो मान्छे आफ्नै हुन्छ, पहिलो पहिलो माया, युद्द, दाइको ससुराली, जीवनदाता, हामी ट्याक्सी ड्राइभर, इतिहास' लगायतका थुप्रै फिल्ममा उनले चर्चित कलाकारहरूसँग अभिनय गरे।
पछिल्लो पटक फिल्म 'फर्की आउ' मा उनले बाल कलाकारको रूपमा अभिनय गरेका थिए, जुन प्रदर्शनमा आएको १३ वर्ष भइसकेको छ।
बीचको समयमा बढ्दो उचाइ, स्वर परिवर्तन र अध्ययनतिर केन्द्रित हुँदा उनी फ्याटफुट्टबाहेक अभिनयमा सक्रिय रहेनन्।
उनै इशान पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारणमा आइरहेको सिरियल 'वडा नं. ४२०' मा देखिइरहेका छन्।
त्यस्तै उनी एक दशकभन्दा लामो समयपछि फिल्ममा पनि फर्किएका छन्। गत सातादेखि मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म 'ज्वाइँ साब' मा इशानले अभिनय गरेका छन्।
'चार दिन भयो सुटिङमा जोडिएको। अझै केही दिन यतै हुनेछु। वर्षौपछि फिल्मको सेटमा आउँदा निकै उत्साहित छु,' उनले भने, 'यसमा मेरो एकदमै राम्रो, क्याच्चि रोल छ। दर्शकले पक्कै रूचाउनुहुनेछ।'
बसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्दि तामाङ, हिमेश पन्तलगायत कलाकारहरूको अभिनय छ। तिहारमा प्रदर्शनमा ल्याउने तयारीका साथ फिल्मको काम भइरहेको छ।
यो फिल्ममा जितुको मुख्य भूमिका रहेका कारण पनि इशान यसमा काम गर्न थप उत्साहित छन्। सिरियलमा जितु (मुन्द्रे) र जिरेको कम्बिनेशनलाई दर्शकले रूचाएका थिए।
'अहिले यतिका वर्षपछि आफ्नै गुरूसँग काम गर्न पाउँदा एकदमै खुशी लागिरहेको छ,' इशानले भने, 'जिरे खुर्सानीमा काम गर्दाको समय, त्यसबेलाका सिनहरू दिमागमा आइरहेका छन्।'
अवसर पाए अभिनयलाई निरन्तरता दिने इशानको योजना छ।