शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेका नेपाली फिल्म 'गाउँ आएको बाटो' र 'लण्डन टु पेरिस' को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।
प्रदर्शनको केही दिनअघि शो बाँडफाँड गर्दै बुकिङ खुलाइएको हो। जसमा 'गाउँ आएको बाटो' ले केही बढी शो पाएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले यो फिल्मलाई प्रदर्शनको पहिलो दिन काठमाडौंमा १४ र बाहिर २६ शो उपलब्ध गराएको छ।
आईएनआईले ९, वान सिनेमाजले ६, बिग मुभिज, एफक्युब र बिएसआरले समान ३–३ शो उपलब्ध गराएका छन्।
त्यस्तै, 'लण्डन टु पेरिस' लाई क्युएफएक्सले काठमाडौंमा ११ र बाहिर १७ शो उपलब्ध गराएको छ।
यो फिल्मले आईएनआई, वान सिनेमाजमा ३–३ शो, बिग मुभिज, बिएसआर, एफक्युबमा २–२ शो पाएको छ।
नवीन सुब्बाको निर्देशन रहेको 'गाउँ आएको बाटो' मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्।
घनश्याम लामिछानेको निर्देशन रहेको 'लण्डन टु पेरिस' मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्माको अभिनय छ।