फिल्म 'पुजार सार्की' र 'फर्की फर्की' बिहीबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन्। यी फिल्म जेठ १० गते रिलिज भएका थिए।
फिल्मको व्यापारलाई लिएर विभिन्न अनुमान भए पनि बक्स अफिस रिपोर्ट भने सार्वजनिक गरिएको छैन।
यसअघि उत्साहजनक सुरूआत गरेका फिल्मका निर्माता एवं वितरकले एक/दुई दिनमै कलेक्सन रिपोर्ट सार्वजनिक गर्थे। 'पुजार सार्की' र 'फर्की फर्की' ले पनि उत्साहजनक सुरूआत गर्दै राम्रो व्यापार गर्न सफल भए। अहिलेसम्म पनि फिल्मले राम्रो व्यापार गरिरहेको निर्माता एवं वितरकले जनाएका छन्।
तर बक्स अफिस रिपोर्ट भने उनीहरूले सार्वजनिक गरेका छैनन्। पुजार सार्कीका निर्माता सुवास भुसाल आफूहरूको टिममा भएको सहमति अनुसार बक्स अफिस रिपोर्ट सार्वजनिक नगरिएको बताउँछन्। 'सुरूमा नगरेर एक-दुई सातामा एकैपटक सार्वजनिक गर्ने भन्ने टिमको सहमति थियो। सोहीअनुसार अहिलेसम्म सार्वजनिक नगरेका हौं। अब, आइतबार कार्यक्रम गरेरै कलेक्सनबारे जानकारी दिने तयारीमा छौं,' उनले भने।
यता 'फर्की फर्की' का वितरक गोविन्द शाहीले अहिलेसम्मको कलेक्सन विवरण निर्मातालाई दिइसकेको बताए। उनले भने, 'एकमुष्ठ रूपमा सार्वजनिक गर्ने भन्ने कुरा हो। निर्मातालाई कलेक्सन रिपोर्ट दिइसकेको छु। कहिले सार्वजनिक गर्नुहुन्छ थाहा छैन।'
फिल्म क्षेत्रलाई नजिकबाट नियालिरहेकाहरू भने एक अर्काको बक्स अफिस रिपोर्ट कुरेर बस्दा दुवैले सार्वजनिक नगरेको बताउँछन्।
'पुजार सार्की' मा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अभिनेत्री अञ्जना बराइली, परीक्षा लिम्बू लगायतको अभिनय छ।
दिनेश राउतको निर्देशनमा बनेको फिल्मलाई विकास सुवेदीले लेखन, सुवास भुसालले निर्माण गरेका हुन्। यसमा जातीय विभेदविरूद्धको कथा प्रस्तुत गरिएको छ।
'फर्की फर्की' मा अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरूङसहित डेब्यु कलाकार रवी काफ्ले र समृद्धि अर्याल मुख्य भूमिकामा छन्।
सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। यो प्रेमकथामा बनेको फिल्म हो।