यात्राको प्रेमकथा प्रस्तुत गर्ने फिल्म 'लण्डन टु पेरिस' ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। रिलिजको पूर्वसन्ध्यामा बिहीबार बेलुका गरिएको प्रिमियरमा फिल्मकर्मीले यसको कथावस्तु मन पराएको प्रतिक्रिया दिएका छन्।
निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण 'लण्डन टु पेरिस' ले दिएको बताए। 'विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा फिल्मले देखाएको छ,' उनले भने, 'मलाई राम्रो लाग्यो। विदेशी भूमिमा बनाइएका धेरै नेपाली फिल्म चल्न सकेका छैनन्। तर यो फिल्मले राम्रो चल्ने सम्भावना देखाएको छ।'
फिल्मका लेखक प्रदीप भारद्वाजले लेखकका रूपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि फिल्म राम्रो बनेको बताए। 'फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ। तर यो फिल्म विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु,' उनले भने।
निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई आफूले फिल्ममा भनेको बताए। विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए।
यो फिल्मबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रूपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पूरा भएको बताए। 'आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ। फिल्म हेर्नुहुनेले राम्रो भनेर प्रतिक्रिया दिइरहनुभएको छ,' प्रिमियरपछि उनले भने।
अर्का अभिनेता कबीर खड्काले आफूले कलाकार भन्दा पनि दर्शकका रूपमा फिल्म हेरेकाले 'इन्जोय' गरेको बताए।
अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन्। 'आफूले दिन सक्ने शत प्रतिशत काम दिने प्रयास गरेको छु। नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु,' डेब्यु अभिनेत्री उनले भनिन्।
फिल्म 'लण्डन टु पेरिस' शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।