निर्माण तयारीमा रहेको फिल्म 'जेरी अनटप' मा अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्मासहित आँचल शर्माको पनि मुख्य अभिनय रहने भएको छ।
अनमोल र आना यसअघि तय भएकोमा निर्माण टिमले अभिनेत्री आँचललाई शुक्रबार मात्रै फिल्ममा अनुबन्धित गरेको हो।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्ममा अनमोल र आँचलले पहिलोपटक सहकार्य गर्न लागेका हुन्। फिल्मलाई सुयोग गुरूङले निर्देशन गर्नेछन्। उनी निर्देशित 'फर्की फर्की' यतिबेला तेस्रो सातामा प्रदर्शनरत छ।
हेमराज बिसीको कथा रहेको फिल्मको निर्माताका रूपमा सरोज न्यौपाने र दीपक भण्डारी छन्।
रोहित अधिकारी यसमा क्रियटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्।
असार २० गतेदेखि फिल्मको छायांकन सुरू गरिने निर्माता सरोज न्यौपानेले बताए। उनका अनुसार काठमाडौं, लुक्ला, मुस्ताङ लगायतका स्थानमा झण्डै २ महिना फिल्मको छायांकन गरिनेछ।
९ वर्षअघि प्रदर्शनमा आएको अनमोल र आना अभिनीत फिल्म 'जेरी' ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। सोही फिल्मको दोस्रो शृंखलाका रूपमा 'जेरी अनटप' निर्माण हुन लागेको हो।