गायक एवं अभिनेता प्रकाश सपुतले फिल्म 'पूर्ण बहादुरको सारंगी' को छायांकन सुरू गरेका छन्।
ओखलढुंगा जिल्लाको रूम्जाटारबाट यो फिल्मको छायांकन सुरू गरिएको छ। जहाँ प्रकाशसँगै बालकलाकार जान्भी पौडेलले ओपनिङ दृश्य दिएका थिए।
गतवर्ष प्रदर्शनमा आएको 'परदेशी २' बाट डेब्यु गरेका प्रकाशको अभिनयका हिसावले 'पूर्ण बहादुरको सारंगी' दोस्रो फिल्म हो।
उनले आफ्नै लेखन, निर्माण एवं निर्देशनमा फिल्म 'वसन्त' बनाउँदैछन्। उनीसँगै अभिनेत्री स्वस्तिमा खड्काको शीर्ष अभिनय रहने फिल्मको भदौंदेखि छायांकन सुरू गरिने र चैते दसैंमा प्रदर्शनमा ल्याइने प्रकाशले जनाएका छन्।
उक्त फिल्मअघि उनले पूर्ण बहादुरको सारंगीमा काम सुरू गरेका हुन्।
अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइलीको पनि मुख्य भूमिका रहनेछ। विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको समेत फिल्ममा अभिनय रहनेछ। फिल्मको बाल कलाकारमा जान्भी पौडेल र स्वायम् केसीको अभिनय रहनेछ।
फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहने जनाइएको छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने फिल्ममा कार्यकारी निर्माताका रूपमा रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।
यो फिल्मलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ।