चेपाङ जातिको कथामा डकुमेन्ट्री फिल्म 'पचेडा' निर्माण भएको छ। दीपेन्द्र केसीको निर्देशनमा बनेको फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका हुन्। चेपाङ जङ्गलमै किन बसिरहेका छन्? उनीहरू किन अवसरका लागि सहर पस्दैनन्? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन्।
उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन्। उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए।
'कुनै हरर फिल्मको झल्को दिने भएता पनि यो वास्तविक कथा हो। वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोशिस गरेको छु,' दीपेन्द्रले भने।
डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार प्रस्तुत छन्। 'पचेडा' लाई निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह–निर्मातामा बालकृष्ण खड्गी रहेका छन्।
फिल्मको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी रहेको निर्माण कम्पनि देव डी प्रोडक्सनले जानकारी दिएको छ।