कलाकार तथा निर्देशक माओत्से गुरूङले फिल्म 'पेन्सन पट्टा' बनाउने भएका छन्। उनको लेखन, निर्माण एवं निर्देशनमा फिल्म बन्ने भएको हो।
केही दिनअघि चलचित्र विकास बोर्डमा नाम दर्ता गराएका उनले भूपू लाहुरेहरूको पृष्ठभूमिमा रहेर फिल्म बनाउन लागेको बताए। 'एकजना लोभी युवक कसरी दानी बन्न पुग्छ? उसको स्वभाव र बानीमा कसरी परिवर्तन आउँछ भन्ने यसको कथा हुनेछ,' माओत्सेले सेतोपाटीसँग भने।
उनी ‘पूर्ण बहादुरको सारंगी’, ऊनको स्वीटर, ‘बलिदान’ लगायतका फिल्ममा कलाकारका रूपमा अनुबन्धित छन्। यी फिल्मको छायांकनपछि आफ्नो फिल्मको सुटिङ सुरू गर्ने योजना रहेको माओत्सेले बताए। 'मंसिरमा छायांकन गर्ने योजना हो,' उनले भने, 'अहिले कलाकारहरू तय गरिएको छैन। केही दिनमा त्यसबारे जानकारी दिनेछौं।'
माओत्से गुरूङ फिल्मसको ब्यानरमा 'पेन्सन पट्टा' बन्नेछ।
चरित्र अभिनेताका रूपमा रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका छन्। उनले यसअघि फिल्म ‘दयारानी’ निर्देशन गरेका थिए।
उनी गुरूङ भाषाका फिल्म निर्माण तथा निर्देशनमा भने पहिल्यैदेखि सक्रिय छन्।