अभिनेता राजेश हमाल फिल्ममा नदेखिएको धेरै वर्ष भइसकेको छ। सोहीकारण उनको 'कमब्याक' लाई लिएर केही वर्षदेखि चर्चा भइरहेको छ।
उनीकहाँ एकपछि अर्को फिल्मको अफर पुगे पनि उनले साइन गरिरहेका थिएनन्। सोहीबीच कमब्याकको तयारीसहित राजेशले तीन वर्षअघि फिल्म 'सत्यम' साइन गरेका थिए।
यो फिल्मको सुटिङका लागि भनेर पोखरामा महंगो सेट समेत तयार गरिएको थियो। राजेशसहित फिल्मका अन्य कलाकारहरू अनुपविक्रम शाही, पल शाह, मलिका महत लगायतको सहभागितामा वर्कसप समेत भयो। तर, त्यसयता यो फिल्मबारे थप जानकारी निर्माण टिमले दिएको छैन।
निर्माता तथा निर्देशक र कलाकारबीच पनि पछिल्लो समय कुराकानी नभएको बुझिएको छ। जसका कारण यो फिल्म निर्माण हुनेमा अन्यौल देखिएको छ।
उक्त फिल्मको सुटिङ सुरू हुन नसकेपछि राजेश हमालले दुई वर्षअघि अर्को फिल्म 'मायाको माया' साइन गरेका थिए। उनीसहित अनुपविक्रम शाही र आना शर्मालाई शीर्ष भूमिकामा लिइएको थियो। मुहूर्त भएर फिल्मको छायांकन समेत गरिएको थियो। 'राजेश सरको पनि सुटिङ भएको थियो। फिल्मको झण्डै ७० प्रतिशत सुटिङ भइसकेको थियो,' फिल्मका एक सदस्यले भने, 'अहिले सुटिङ रोकिएको डेढ वर्ष भइसकेको छ। निर्माण टिमसँग यसबारे थप केही कुराकानी भएको छैन।'
फिल्मका एक कलाकारले पनि निर्माण टिमसँग पछिल्लो समय आफ्नो कुरा नभएको बताए।
राजेशले साइन गरेका फिल्मको काम बीचमै रोकिँदा उनको कमब्याक कहिले हुने हो भन्ने चासो देखिएको छ।
उनले फिल्म निर्देशनमा आउने समेत घोषणा गरिसकेका छन्। सोहीकारण अभिनय मात्र होइन्, राजेशले बनाउने फिल्मलाई लिएर पनि दर्शकमा चासो देखिन्छ।