गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले त्रिशूली नदीमाथि रहेको स्काइ साइक्लिङ अनुभव लिएका छन्।
त्रिशूली रिभरसाइड रिसोर्टले सञ्चालनमा ल्याएको साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको स्काइ साइक्लिङमा उनी रमाएका हुन्।
सुरूमा डराएपनि पछि निकै रमाइलो गरेको उनले बताए। 'नदीमाथि साइक्लिङ कसरी गर्ने होला भनेर सुरूमा मनमा डर लागेको थियो। तर पछि थ्रिलर अनुभव भयो,' उनले भने।
काठमाडौंबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिंगामा अवस्थित रिसोर्टको स्काइरोप साइक्लिङमा दुई वटा ट्रयाक छन्। एउटा ट्रयाकमा एक जनाले साइक्लिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिल्ने सुविधा छ।
पछिल्लो समय रिसोर्टको उक्त स्काइ साइक्लिङ आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। रिसोर्टमा स्काइ साइक्लिङका साथै र्याफटिङ र जिपलाइनलगायतका सुविधा उपलब्ध छन्।
दुईतर्फी तीन सय ५० मिटर लम्बाइको स्काइ साइक्लिङमा रमाउन प्रतिव्यक्ति सात सय पचास रूपैयाँ लाग्छ भने फोटो र भिडिओका लागि थप शुल्क लाग्ने रिसोर्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए।