कमेडी टेलिसिरियल 'ख्याल ठट्टा' असारदेखि प्रसारणमा आउने भएको छ।
यसअघि प्रसारणमा आएर रोकिएको सिरियललाई नयाँ टिमले दर्शकमाझ ल्याउन लागेको हो।
सुरज खनालको लेखन एवं निर्देशनमा यो सिरियलको दोस्रो सिजन आउन लागेको हो। उनले यसअघि 'अति भो' लाई लेखन एवं निर्देशन गर्दै आएका थिए।
विगत ४ वर्षदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘अति भो’ लाई बन्द गरेर 'ख्याल ठट्टा' सिरियल ल्याउन लागिएको खनालले बताए।
उनका अनुसार ख्याल ठ्टटाको टाइटलदेखि युट्युब च्यानलको अधिकार लिएर सिरियल ल्याउन लागिएको हो।
'अधिकांश कलाकार अति भो कै हुनेछौं,' उनले भने, 'असार पहिलो सातादेखि प्रसारणमा ल्याउने तयारी हो।' सिरियलको एक भागको छायांकन समेत भइसकेको छ।
सिरियलमा टिकटकबाट चर्चामा आएर म्युजिक भिडिओमा जमेकी मोडल पवित्रा साकी (मिस पबी) को समेत शीर्ष अभिनय रहनेछ।
'एन स्क्पायर' युट्युबमा सिरियल सार्वजनिक हुनेछ। टेलिभिजनका लागि भने कुराकानी भइरहेको खनालले बताए।
शनिबार सिरियलको प्रोमा सार्वजनिक गर्ने तयारी छ।