शुक्रबार रिलिज हुने नेपाली फिल्म 'बाटोः रोड टु डेथ' लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ।
ललितपुरको पुल्चोकस्थित लबिम मलमा बुधबार बेलुका गरिएको प्रिमियरमा फिल्म हेर्नहरूले अहिलेसम्म नेपालमा बनेकामध्ये विल्कुलै फरक फिल्म बनेको प्रतिक्रिया दिएका छन्।
विशेष गरेर प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले बताए। प्रिमियरपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै लेखक एवं निर्देशक मदन थापाले फिल्म हेर्नेजतिबाट पाएको प्रतिक्रियाले उत्साहित भएको बताए।
भारतको चेन्नईमा रहेर दक्षिण भारतीय (साउथ इन्डियन) फिल्ममा समेत काम गरेका थापाको निर्देशनका रूपमा ‘बाटो’ डेब्यु फिल्म हो।
यसका सम्पादक समेत रहेका उनले प्रिमियरमा पाएको जस्तै प्रतिक्रिया नेपाली दर्शकहरूबाट पनि पाउने विश्वास रहेको बताए। 'नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ। आजकल दर्शक फिल्ममेकर भन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले फिल्म नै राम्रो बनाउनु पर्छ,' उनले भने।
यसका अभिनेता सुलक्षण भारतीले यो फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए। उनले यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको बताए।
अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतिक्षापछि फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे।
अभिनेत्री रक्षा थापाले यो फिल्ममा एकदमै धेरै भावना जोडिएको बताइन्। उनले 'बाटो' हेर्दा फिल्म सकिएको थाहा नै नहुने बताइन्।
अग्रज अभिनेत्री मिथिला शर्माले यस फिल्ममा आफूलाई अभिनयको लागि लिइएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन्।
काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता चन्दन झा हुन्। यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायांकार शरण ऋषिले खिचेका हुन्।
यसको भिएफएक्स, कलर, ब्याकग्राउन्ड म्युजिक, मिक्सिङ लगायत पोस्ट–प्रोडक्सनको सबै काम भारतको चेन्नईमा गरिएको हो।
फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, आशान्त शर्मा, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार लगायत कलाकारहरूको अभिनय छ।
१ घण्टा ४३ मिनेटको फिल्म थ्रिलर जनरामा बनेको हो।