नयाँ स्वाद र शैलीमा बनेको नेपाली फिल्म 'बाटो– रोड टु डेथ' आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ।
दक्षिण भारतीय फिल्ममा काम गरेका मदन थापाले यसको लेखन, निर्देशन एवं सम्पादन गरेका हुन्।
फिल्ममा मिथिला शर्मा, रक्षा थापा, आशान्त शर्मा, सुलक्षण भारती, पशुपति राई, उत्पल झा लगायतको अभिनय छ। 'यो एक दिनको यात्राको कथा हो। फिल्ममा थ्रिल, एक्सन, ड्रामा, सेन्टिमेन्ट, कमेडी सबै चिज राखेर प्याकेजिङ गरेका छौं,' निर्देशक थापाले भने, 'कलाकारको प्रस्तुतिदेखि फिल्मको समग्र पक्षको गुणस्तरमा एकदमै नौलो स्वाद दिने प्रयास गरेका छौं। दर्शकले पक्कै रूचाउनुहुनेछ।'
फिल्मको पोस्ट–प्रोडक्सनको सबै काम भारतको चेन्नईको गरिएको हो। ओटिटी प्लेटफर्ममा लैजाने सोचले गुणस्तरमा सम्झौता नगरी काम गरिएको निर्देशक थापाले बताए।
काठमाडौं फिल्मसको प्रस्तुति रहेको 'बाटो' का निर्माता चन्दन झा हुन्। फिल्मलाई हिन्दी, तमिल, तेलुगू र अंग्रेजीमा पनि तयार गरेर दर्शकमाझ ल्याउने तयारी छ।
दोस्रो सातामा 'गाउँ आएको बाटो', उत्रियो 'लण्डन टु पेरिस' !
नवीन सुब्बाको निर्देशन रहेको फिल्म 'गाउँ आएको बाटो' प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ।
विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेपछि घरेलु दर्शकमाझ आएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। दोस्रो सातामा पनि मल्टिप्लेक्समा यो फिल्मको शोमा धेरै गिरावट आएको देखिँदैन।
यो फिल्मसँग एकसाथ रिलिज भएको 'लण्डन टु पेरिस' भने धेरै हलबाट उत्रिसकेको छ।