यतिबेला हलमा चारवटा नेपाली फिल्म लागिरहेका छन्। जसमध्ये 'पुजार सार्की' र 'फर्की फर्की' जेठ १० मा रिलिज भएका हुन्।
अघिल्लो साता रिलिज भएको 'गाउँ आएको बाटो' दोस्रो सातामा प्रदर्शनरत छ भने 'बाटो' आज (शुक्रबार)देखि प्रदर्शनमा आएको हो।
आगामी शुक्रबार एकसाथ तीनवटा नेपाली फिल्म रिलिज हुँदैछन्।
हलमा धमाधम नेपाली फिल्म प्रदर्शन हुँदा युट्युबमा भने केही महिनादेखि फिल्म रिलिज भएका छैनन्।
धेरैजसो नेपाली फिल्मको डिजिटल अधिकार लिने कम्पनी ओएसआर डिजिटल, बुढासुब्बा डिजिटल, हाइलाइटस् नेपाल लगायतमा पछिल्लो तीन–चार महिनायता एउटा पनि फिल्म रिलिज भएको देखिँदैन।
ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओम अग्रवाल अहिले युट्युब बजार राम्रो नरहेको र त्यसबाट मात्रै आफूहरूको लगानी उठ्ने सम्भावना न्यून हुने भएकाले रिलिज नगरिएको बताउँछन्।
उनका अनुसार फिल्मका लागि युट्युब आम्दानीको अन्तिम स्रोत मानिन्छ। त्यसअघि ओटिटी प्लेटफर्ममा ल्याउन सके राम्रो हुने सोचेर नै आफूले अहिले फिल्महरू युट्युबमा ल्याउन हतार नगरेको अग्रवालले बताए।
'अहिले मसँग ३५–४० वटा फिल्म छन्, तर यी फिल्महरू सिधै युट्युबमा राख्दा त्यसबाट मात्रै लगानी उठदैन। र, युट्युबमा राखेपछि अन्य प्लेटफर्ममा बेच्न गाह्रो हुन्छ,' उनले सेतोपाटीसँग भने, 'त्यसअघि मिनिमम ग्यारेन्टीका साथ ओटिटीमा बिक्री गर्न सके केही राहत हुन्थ्यो कि भनेर कुरिरहेको हो।'
केही महिना ओटिटी प्रदर्शनकै लागि प्रयास गर्ने र त्यसपछि मात्रै फिल्मलाई युट्युबमा सार्वजनिक गर्ने सोच बनाएको उनले बताए।
फिल्मलाई युट्युबमा सार्वजनिक गर्नका लागि यो समयलाई उपयुक्त पनि नमानिने जानकारहरू बताउँछन्। उनीहरूका अनुसार फिल्म युट्युबमा ल्याउनका लागि नोभेम्बर र डिसेम्बर सबैभन्दा राम्रो समय हो।
त्यो समयमा रिलिज गर्दा विदेशी विज्ञापन धेरै आउने र त्यसबाट बढी आम्दानी हुने आशामा फिल्मकर्मीहरू हुने गरेका छन्। त्यही आशामा उक्त समयमा युट्युबमा बढी फिल्म आउने जानकारहरू बताउँछन्। हलमा फ्लप भएका फिल्मले पनि युट्युबमा भने लोभलाग्दो भ्युज पाउने गरेका छन्।