निर्माणको तयारीमा रहेको फिल्म 'कंगारू' मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन्। यतिबेला फिल्म 'ज्वाइँ साब' को छायांकनमा व्यस्त रहेका उनीसँग निर्माण पक्षले सेटमै पुगेर लिखित सम्झौता गरेको हो।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि अभिनेता केदार घिमिरे 'माग्ने बुढा' र अर्पण थापा अनुबन्धित भइसकेका छन्।
फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरूको लाइनअप बलियो बन्दै गएको छ। जितुले फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन्।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यात्रायातमन्त्री समेत रहेका राजिव गुरुङ 'दीपक मनाङे' को प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो। यसअघि फिल्म 'लाखे' निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए।
फिल्मलाई अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ। हाल लोकेसन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब हप्ता दिनमा अभिनेत्री फाइनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए। ३५ दिनको छायांकन सेड्यूल तय गरिएको फिल्मलाई अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा खिचिने बस्नेतले बताए।
फिल्म 'कंगारू' मा केही फरक कथा भन्न मन लागेको बताउँदै निर्देशक बस्नेतले यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउने बताए।
यो फिल्म फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी 'म्यक्स' निर्माताको रूपमा छन्।
फिल्मको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन्। फिल्मको लाइन प्रोड्यूसरमा सविन ज्ञावली (अष्ट्रेलिया) रहेका छन्। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ।
फिल्ममा सीमा गुरूङको कथा रहनेछ। सुशन प्रजापतिले यसलाई छायांकन गर्नेछन्।