यस वर्षको हिट फिल्म 'बोक्सीको घर' का लेखक एवं निर्देशक सुलक्षण भारतीले निर्मातासँग असन्तुष्टि पोखेका छन्।
फिल्मले ५१ दिन मनाएको सन्दर्भमा आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले लेखक र निर्माताका रूपमा आफूलाई बेवास्ता गरिएको बताएका हुन्। स्टाटसमार्फत उनले थुप्रै प्रश्न समेत सोधेका छन्।
उनले लेखेका छन्–
यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु। यहाँ आफ्नो लागि आफैले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ।
यी मेरा प्रश्नहरू हुन्, कसैप्रति आक्षेप भने होइन। प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो।
यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरू हुन्। 'काम गर्ने कालु, माम खाने आलु' के यो उखानले सार्थकता राख्छ?
यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यस्मा ध्यान नदिनुले के प्रश्न खडा गर्छ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देश्कको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ?
म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु के यो अनुभव स्वाभाविक हो?
जसले जे काम गरेको छ त्यसको उचित मूल्यांकन हुन पनि जरूरी छ वा छैन?
लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र? बौद्दिक चोरी भनेको के हो?
बोक्सीको घर आखिरमा कस्ले बनाएको चलचित्र हो?
अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने?
दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा संचार माध्यम हो। यस विषयमा कस्ले ध्यान दिने?
एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र?
सुलक्षणले निर्मात्री एवं अभिनेत्री समेत रहेकी केकी अधिकारीतर्फ लक्षित गर्दै यो स्टाटस लेखेको सजिलै बुझ्न सकिन्छ।
‘बोक्सीको घर’ वैशाख १४ मा रिलिज भएको फिल्म हो। यसले घरेलु बक्सअफिसमा १० करोड रूपैयाँमाथि कमाइ गरेको छ।