नवीन सुब्बाको निर्देशन रहेको फिल्म 'गाउँ आएको बाटो' दोस्रो सातामा प्रदर्शनरत छ। विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेपछि जेठ २५ देखि फिल्म घरेलु दर्शकमाझ आएको थियो।
फिल्मले सुरूका दिनदेखि नै सुखद् व्यापार गरिरहेको निर्माता अमोद राई बताउँछन्। उनका अनुसार सुरूवाती दिनमा आदिवासी जनजाति समुदायका र बौद्धिक वर्गका दर्शकहरू बढी थिए। 'दोस्रो शनिबारदेखि युवा वर्गका दर्शकहरू धेरै पाएका छौं,' निर्माता राईले भने, 'समग्रमा फिल्मले राम्रो गरिरहेको छ। दर्शकबाट प्रतिक्रिया पनि राम्रो पाइरहेका छौं।'
विशेष गरेर विदाका दिनमा कतिपय हलमा फिल्मको अकुपेन्सी शत प्रतिशतसम्म देखिएको छ। निर्माता राईका अनुसार फिल्मको व्यापार पूर्वतिर राम्रो देखिएको छ। दर्शक बढेसँगै कतिपय हलले शोमा समेत बृद्धि गरेको उनले बताए।
फिल्मको ग्रस कलेक्सन रिपोर्ट भने सार्वजनिक गरिएको छैन। कलेक्सन एकैपटक जानकारी गराउने टिममा छलफल भएकाले सार्वजनिक नगरिएको निर्माता राईले बताए।
उनले फिल्मलाई लिएर भइरहेको बहसले थप खुशी मिलेको बताए। 'व्यापारको पाटो एक ठाउँमा छ। फिल्मको कथा, निर्देशकको कामदेखि कलाकारको अभिनयलाई लिएर जुन बहस भइरहेको छ, त्यसबाट थप खुसी छौं,' निर्माता राईले भने।
'गाउँ आएको बाटो' मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्मको प्रस्तुति रहेको फिल्मको कथा नवीन सुब्बा र महेश राईले लेखेका हुन्।
दुर्गम गाउँमा बाँसको चोया बुनेर सामान्य जीवनयापन गर्दै आएको परिवारमा नव-निर्मित बाटोले ल्याएको उतार चढावको कथालाई फिल्ममा देखाइएको छ।