नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन्।
जुन २० देखि सुरू हुने फेस्टिभलमा उनीहरूको फिल्म 'गाउँ आएको बाटो' को ओपनिङ स्क्रिनिङ हुँदैछ। अमेरिकाब्यापी रिलिजको पूर्वसन्ध्यामा हुने रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागि हुन लागेका हुन्।
फेस्टिभलमा समापन फिल्मको रूपमा 'द रेड सुटकेस' स्क्रिनिङ हुनेछ।
मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने फेस्टिभलमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरेर ३५ फिल्म स्क्रिनिङ हुनेछन्।
फेस्टिभल उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ।
४ दिनसम्म चल्ने फेस्टिभल फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुने उल्लेख छ। यो फेस्टिभल सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।