गत शुक्रबार एउटा नेपाली फिल्म रिलिज भएको थियो। यो शुक्रबार (असार ७) मा भने एकसाथ तीनवटा नेपाली फिल्म रिलिज हुँदैछन्।
फिल्महरू हुन्– दान्भी, आचार्य र शिरफूल।
रूपेश तामाङको निर्देशन रहेको 'दान्भी' एक्सन लभस्टोरी फिल्म हो।
यसमा पूजा शर्मा र कुन्साङ बम्जनको मुख्य अभिनय छ। पूजाले पहिलोपटक यो फिल्ममा एक्सन भूमिका निर्वाह गरेकी छन्। फिल्ममा काम गर्न एक्सनले नै आकर्षित गरेको उनको भनाई छ।
फिल्मका लागि धेरै मेहनत गरेको बताउँदै हेरिरहेकाभन्दा यसमा फरक एक्सन देख्न पाइने पूजाले बताएकी छन्। यसको रनटाइम २ घण्टा ५ मिनेट छ।
त्यस्तै 'आचार्य' भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म हो। यो फिल्म १३ वर्षअघि निर्माण भएर प्रदर्शन भएता पनि गत वर्ष निधन भएका आचार्यलाई श्रद्धाञ्जली स्वरूप पुनः रिलिज गर्न लागिएको हो।
फिल्ममा आचार्यको बाल्यकालदेखि संघर्ष, संगीत क्षेत्रको उत्कृष्ट समय, स्वर गुमेको घटनालाई प्रस्तुत गरिएको छ। उनको निधन पश्चातका दृश्यहरू पनि समेटेर नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शनमा ल्याउन लागिएको छ।
प्रशान्त रसाईलीको निर्देशन रहेको फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन्।
सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ। यो फिल्म २ घण्टा १७ मिनेट लामो छ।
अर्को फिल्म 'शिरफूल' सामाजिक कथा हो। केही वर्षअघि निर्माण भएता पनि अहिले आएर यो फिल्मलाई प्रदर्शनमा ल्याउन लागिएको हो। कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ लगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।
आदिवासी महिलाहरूले टाउकोमा लगाउने फूलको आकार भएको गहनालाई शिरफूल भन्ने गरिन्छ। समाजमा छोरीलाई टाउकोको फूल मान्ने चलन रहेकाले फिल्ममा बिम्बका रूपमा शिरफूलको प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ।
बढ्दो आधुनिकताको प्रभावले युवा पुस्तामा देखिने सांस्कृतिक विकृतिलाई फिल्मले चित्रण गर्ने जनाइएको छ।
यो फिल्म २ घण्टा लामो छ।