फरक शैलीमा बनेको नेपाली फिल्म 'बाटोः रोड टु डेथ' यतिबेला हलहरूमा लागिरहेको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको यस थ्रिलर फिल्मलाई मदन थापाले लेखन एवं निर्देशन गरेका हुन्। दक्षिण भारतीय फिल्ममा काम गरेका उनले यसमा दर्शकलाई सोही स्वाद दिने प्रयास गरेका छन्।
नेपालका लागि नयाँ खालको फिल्म मानिएको 'बाटो' ले व्यापार चाहिँ कस्तो गरिरहेको छ?
यो फिल्मको व्यापार भने सुखद् देखिएको छैन। फिल्मले तीन दिनमा ३५ लाख रूपैयाँ हाराहारी ग्रस कलेक्सन गरेको जानकारी प्राप्त छ। जुन निर्माण टिमको अपेक्षा विपरीत हो।
लेखक एवं निर्देशक थापाले 'वर्ड अफ माउथ' सकारात्मक रहेकाले व्यापार बढ्दै जानेमा आशावादी रहेको बताए। व्यापार अपेक्षित नभए पनि दर्शक प्रतिक्रियाबाट एकदमै खुसी लागेको सुनाए।
'जति पनि दर्शकले हेरिरहनुभएको छ। राम्रो प्रतिक्रिया दिनुभएको छ। नयाँ टेस्ट पाएको बताउनुभएको छ,' उनले भने, 'सबैको सकारात्मक प्रतिक्रियाले दर्शकहरू बढिरहनुभएको छ। त्यसैले यो फिल्म लामो रेसको घोडा बन्ने विश्वास छ। हलबाट निस्किँदै गर्दा धेरैले यसको दोस्रो पार्टको समेत माग गर्नुभएको छ।'
फिल्मलाई लिएर सकारात्मक प्रतिक्रिया पाइरहँदा रिलिज अघि आफूहरू प्रचारप्रसारमा चुकेको महसुस भएको समेत थापाले बताए। सोहीकारण रिलिजपछि पनि आफूहरू प्रचारप्रसारमा दौडधुप गरिरहेको बताए। 'बढी भन्दा बढी दर्शकमाझ फिल्म पु¥याउने चाहना हो। त्यसैले अहिले पनि हामी दौडधुप गरिरहेका छौं,' उनले भने।
तीनजना पात्रको एक दिनको यात्राको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा, आशान्त शर्मा, पशुपति राई लगायत कलाकारहरूले यसमा अभिनय गरेका छन्।
काठमाडौं फिल्मसको प्रस्तुति रहेको 'बाटो' का निर्माता चन्दन झा हुन्। फिल्मलाई अन्य भाषामा पनि ल्याउने तयारी छ।