निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन्। नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन उनीहरू बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने फेस्टिभलमा उनीहरूको सहकार्यमा बनेको फिल्म 'गाउँ आएको बाटो' ओपनिङ स्क्रिनिङ हुँदैछ। फेस्टिभलको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्। त्यहाँस्थित एएफआई सिल्भर थिएटरमा बिहिबार 'गाउँ आएको बाटो' प्रदर्शन गरिने छ।
फेस्टिभलमा समापन फिल्मको रूपमा 'द रेड सुटकेस' प्रदर्शन हुनेछ।
फेस्टिभलमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरेर ३५ फिल्म स्क्रिनिङ हुने तय छ।
फेस्टिभलमा राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा 'ढोरपाटन' र केसाङ छेतेन निर्देशित वृत्तचित्र 'डाइभर्सिटी प्लाजा' पनि प्रदर्शन हुनेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ।
फेस्टिभल उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ।
चार दिनसम्म चल्ने फेस्टिभलमा फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ।
फिल्म र संस्कृति, महिला ‘प्यानल’ मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ।
यो फेस्टिभल सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।