कमेडी सिरियल 'ख्याल ठट्टा' नयाँ टिमका साथ शनिबारदेखि प्रसारणमा आएको छ। यसअघि 'अति भो' सिरियल ल्याउँदै आएको टिमले 'ख्याल ठट्टा' लाई प्रसारणमा ल्याएको हो।
सिरियललाई सुरज खनालले लेखन तथा निर्देशन गरेका छन्।
शनिबार एक कार्यक्रमकाबीच सिरियलका कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइएको थियो। अब हरेक शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युब च्यानलबाट सिरियल प्रसारणमा आउनेछ।
आयोजित कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सफलताको शुभकामना दिए। उनले आफूलाई कलाकारहरू निकै मन पर्ने र कलाकारले आफ्नो कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनुपर्ने बताए।
सिरियलको टिमलाई शुभकामना दिन अग्रज कलाकार सुरवीर पण्डित (दाह्री बा), कलाकार हरिश निरौला (कक्रोज), बेगम नेपाली (भटभटे माइला) पनि पुगेका थिए।
सिरियलका कलाकार निर्मल शर्माले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको भन्दै आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको जानकारी गराए।
कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारी लगायतका कलाकारले पनि आफ्नो अनुभव सुनाए। सिरियलका लेखक, निर्देशक तथा कलाकार सुरज खनालले यसअघि अति भो सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ख्याल ठट्टामा अझै राम्रो गर्ने प्रयास रहने बताए।
सिरियलमा मोडल पवित्रा साकी (मिस पबी)को पनि मुख्य भूमिका रहनेछ। सिरियलमा नियमित देखिन लागेकी उनले यसमा जोडिन पाउँदा खुसी लागेको बताइन्।
ख्याल ठट्टामा शर्मीला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबी शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारलाई दर्शकले देख्न पाउनेछन्।
सागर खड्का र शिब बि.कको छायांकन रहने सिरियललाई सन्दीप चौधरीले सम्पादन गर्नेछन्।