फिल्म 'एक्टर' को हाल काठमाडौंमा धमाधम छायांकन भइरहेको छ। यो फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्रीद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन्।
फिल्मको टिमले छायांकन सेटमा कलाकारको सहजताका लागि 'भ्यानिटी भ्यान' उपलब्ध गराएको छ। ५– ७ जना बस्न मिल्ने भ्यानिटी भ्यान सुविधासम्पन्न रहेको निर्माता थमन कुमार भण्डारीले बताए।
उनका अनुसार अहिले फिल्मका मुख्य अभिनेता प्रदीपले टेक भएको अवस्थामा बाहेक यही भ्यानमा रहेर तयारी गरिरहेका छन्।
विशेषतः भ्यानिटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ। आराम गर्न, पहिरन परिवर्तन, मेकअप, शौचालय लगायतका सुविधाका लागि यो भ्यान प्रयोग गरिन्छ।
बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानिटी भ्यान प्रयोग गर्दै आएका छन्। तर, नेपालमा भने यसको प्रचलन खासै देखिएको थिएन।
विशेष गरेर आउटडोर छायांकनका लागि भ्यानिटी भ्यान प्रभावकारी हुने गरेको छ।
एक्टरको छायांकनमा प्रयोग भएको भ्यानिटी भ्यान नेपालमै तयार पारिएको हो। 'यो हाम्रो टिमले हालसालै बनाएको भ्यानिटी भ्यान हो। यसलाई भाडामा दिनेगरी नै बनाइएको हौं,' निर्माता भण्डारीले सेतोपाटीसँग भने, 'अन्य फिल्ममा पनि यसको प्रयोग हुने विश्वास छ।'
राजन भुसालको निर्देशनमा बनिरहेको फिल्म 'एक्टर' लाई आकाश बरालले लेखेका हुन्।
फिल्ममा प्रदीप, दिव्या र आनासहित राजबल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला, प्रदीपकुमार चौधरीलगायत कलाकारको अभिनय छ।
नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई अझै २० दिन खिचिने जनाइएको छ।
यो फिल्म कात्तिक १५ गते लक्ष्मीपूजाको अवसर पारेर प्रदर्शनमा आउनेछ।