शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो, दान्भी। अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेका कारण पनि रिलिजअघि फिल्मले एक खालको चर्चा पाएको थियो।
फिल्मले कस्तो व्यापार गर्ने हो भन्ने धेरैको चासो थियो।
फिल्मले पहिलो दिन (शुक्रबार) काठमाडौंका केही मल्टिप्लेक्समा दर्शकको उत्साहजनक साथ पाएको थियो। उक्त दिन कतिपय हलमा अभिनेत्री पूजासहित अभिनेताद्वय कुन्साङ बम्जन र किरण श्रेष्ठसहितको टिम उपस्थित भएर दर्शकलाई धन्यवाद दिएका थिए।
शनिबार अस्टनारायण हलमा दिउँसोको शो हाउसफुल रह्यो। त्यहाँ पुगेका कलाकारसँग तस्बिर खिचाउन दर्शकको तछाडमछाड देखिएको थियो। बिएसआर, एफक्युब लगायतका हलमा पनि फिल्मले शनिबार उत्साहजनक व्यापार गरेको थियो।
वितरक रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले केही हलमा फिल्मको व्यापार राम्रो देखिए पनि समग्रमा सोचेजस्तो ओपनिङ भने गर्न नसकेको स्वीकार गरे। 'शुक्रबारको तुलनामा शनिबार केही राम्रो रह्यो। फिल्मको कलेक्सन रिपोर्ट त आइसकेको छैन। तर हामीले सोचेको जस्तो ओपनिङ भने फिल्मले गर्न सकेन,' श्रेष्ठले भने।
रूपेश तामाङको निर्देशनमा बनेको 'दान्भी' लाई हलले सुरूवाती दिनका लागि उत्साहजनक शो उपलब्ध गराएका थिए। राम्रो व्यापार गर्न नसकेपछि कतिपय मल्टिप्लेक्सले फिल्मको शोमा पनि केही कटौति गरेका छन्।
फिल्मलाई लिएर दर्शकको प्रतिक्रिया मिश्रित छ।