लोकप्रिय रियालिटी शो 'कमेडी च्याम्पियन' सिजन ३ को ग्राण्ड फिनाले शनिबार हुँदैछ।
काठमाडौंको मूलपानीस्थित आफ्नै स्टुडियोमा अपरान्ह ४ बजेदेखि फिनाले सुरू हुनेछ। फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट एकजना विजेता घोषणा गरिनेछ।
काठमाडौंका सुनिल खड्का, नवलपुरकी सुयशा खनाल र सुनसरीका ऋषभ काफ्ले च्याम्पियनको फाइनल प्रतिस्पर्धामा छन्। यीमध्ये सुयशा कमेडी च्याम्पियनको फिनालेसम्म पुग्ने अहिलेसम्मकै कान्छी प्रतिस्पर्धी हुन्।
शनिबार बेलुका ७ः३० बजेसम्मका लागि भोट खुला गरिएको छ। फाइनलिस्टहरू यतिबेला भोटिङ क्याम्पियनमा व्यस्त छन्।
फिनालेलाई कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमार्फत लाइभ प्रसारण गरिनेछ। उत्कृष्ट ३ सँगै बाहिरिइसकेका प्रतिस्पर्धीको समेत फिनालेमा प्रस्तुति रहनेछ।
यो पटक विजेतालाई यसअघिको सिजनमा भन्दा महंगो मूल्यको कार प्रदान गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताए। ‘यसअघि विजेतालाई २५ लाख रुपैयाँ नगद र सोही मूल्य बराबरको कार पुरस्कार थियो,' भण्डारीले भने, 'यसपटक नगद पुरस्कार यथावत रहेको र ३९ लाख मूल्यको कार दिन लागेका छौं।'
उनका अनुसार सिजि मोटर्ससँगको सहकार्यमा विद्युतीय गाडी 'नेटा भी' प्रदान गर्न लागिएको हो।
'कमेडी च्याम्पियन' मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन्।
रीमा विश्वकर्मा र मेक्सम गौंडेल यसको होस्टका रूपमा छन्।
यो शोको तेस्रो सिजनमा करिब २ हजारले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए। त्यसबाट प्रि–जजिङ हुँदै १ सय ३२ जना फिजिकल अडिसनमा सहभागी थिए। त्यसबाट उत्कृष्ट ३०, १६, १० हुँदै शो फिनालेसम्म आइपुगेको हो।
यसको पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए।