फिल्म 'यो मन त मेरो नेपाली हो' को छायांकन सकिएको छ। 'आखै रसिलो' बोलको गीत खिचिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जनाएको छ।
भ्वाइस अफ नेपालको स्टुडिओ र बालाजु ल्याबमा छायांकन गरिएको सो गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुवेदीले स्वर दिएका छन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडिओमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, डि आइडीका उत्कृष्ट १० भित्र पर्न सफल डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ।
'यो मन त मेरो नेपाली हो' लाई अमेरिका, भारतको सिक्किम, दार्जीलिङ, जयगाउँ पश्चिम बंगाल र नेपालको काठमाडौंसहित झापा र इलाममा छायांकन गरिएको छ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।
फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय छ। अभिनेत्री आयुषा समाल मेरो डान्स कप युएसएकी फर्स्ट रनरअप हुन्।
फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, बेल्जियम, साउथ अफ्रिका लगायतका देशका कलाकारहरूको पनि अभिनय छ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने जनाइएको छ।
शिवम् अधिकारीको लेखन रहेको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएको बताइएको छ।
फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन्।