मीनबहादुर भामको निर्देशन रहेको फिल्म ‘शाम्बाला’ को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रमकाबीच फिल्मको ट्रेलर रिलिज गरिएको हो।
ट्रेलरमा कर्णालीको हिमाली गाउँमा बहुपति प्रथाको चलनअनुसार ३ जना दाजुभाइसँग विवाह गरेकी ‘पेमा’ को कथा देखाइएको छ।ट्रेलरलाई नेपाली र अंग्रेजी सबटाइटलमा तयार गरिएको छ।
'शाम्बाला' विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रापछि यही भदौ २८ गतेदेखि घरेलु दर्शकमाझ प्रदर्शनमा आउन लागेको छ।
कार्यक्रममा बोल्दै निर्देशक मीन भामले पहिलो थ्रिटिकल रिलिज नेपालमा गर्न लागेकोमा एकदमै उत्साहित र आशावादी रहेको बताए।
'मेरो अघिल्लो फिल्म कालोपोथी नेपालमा रिलिज गर्दा केही गुनासो सुनेको थिए। तपाईहरूले फिल्म बनाएर संसारभर घुम्ने, अन्तको दर्शकलाई देखाएपछि बल्ल नेपालमा लगाउने, नेपाली दर्शकलाई हेला गर्ने अथवा यस प्रकारका फिल्म हेर्न एक–दुई वर्ष कुर्नुपर्ने भन्ने खालको गुनासो थियो,' भामले भने, 'त्यो कुरा मलाई रिअलाइजेशन भयो। त्यसपछि निर्माताहरूसँग सल्लाह गरे। यो फिल्म पहिलो थ्रिएटिकल रिलिज नेपालमै गर्छु भनेर लागिपरेँ।'
यो फिल्म आफ्नो लागि ठूलो पाठशाला पनि भएको उनको भनाईं थियो। भामले फिल्मले घरेलु दर्शकमाझ पनि धेरै राम्रो गर्ने अपेक्षा रहेको बताए।
फिल्ममा 'पेमा' को भूमिकामा थिन्ले ल्हामोले अभिनय गरेकी छिन्। उनले यो फिल्मबाट केही दिनअघि स्वीटजरल्यान्डमा आयोजित विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित 'बोक्कालिनो डिओर' अवार्ड जितेकी थिइन्। यो दक्षिण एसियाली कलाकारले पहिलोपटक पाएको अवार्ड थियो।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै थिन्लेले अवार्ड पाउँदाको त्यो अनुभूति समेत सेयर गरेकी थिइन्।
कार्यक्रममा अभिनेता नीर शाहले 'शाम्बाला' ले प्रतिष्ठाको लामो सूची तयार गर्न सफल भएको भन्दै बधाई तथा शुभकामना दिए।
डा. भगवान कोइराला, निर्देशक उपेन्द्र सुब्बा, गायिका आनी छोइङ डोल्मा लगायतले समेत फिल्मको टिमलाई बधाई तथा शुभकामना दिए।
'शाम्बाला' मा थिन्ले ल्हामोसहित सोनम तोप्देन, कार्म लगायतले अभिनय गरेका छन्।
फिल्मले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गर्छ।
३ जना दाजुभाइसँग विवाह गरेकी ‘पेमा’ गर्भवती भएको थाहा पाएपछि ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान 'टासी' लाई खोज्न दोस्रो श्रीमान 'कर्म' सँग यात्रामा जान्छिन्।
सांसारिक खोजको रूपमा सुरू भएको यो यात्रा कसरी पेमाको आत्मज्ञान र मुक्तिको बाटोमा रूपान्तरण हुन्छ भन्ने नै 'शाम्बाला' को कथा हो। नेपाल प्रदर्शनपछि थुप्रै देशमा फिल्म प्रर्दनमा आउनेछ।
फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।
यो फिल्मको बजेट झण्डै १४ करोड बताइएको छ।
फिल्म निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले पनि सहकार्य गरेका छन्।