फिल्म 'शाम्बाला' का निर्देशक मीनबहादुर भामले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि सहयोगको घोषणा गरेका छन्।
कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ।
मंगलबार 'शाम्बाला' को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक भामले आफूहरूसँग १० वटा थांका चित्र रहेको र त्यो बिक्रीबाट भएको आम्दानी बाल अस्पताल निर्माण अभियानमा सहयोग गर्ने घोषणा गरेका हुन्।
विभिन्न देशमा फिल्म प्रदर्शनको क्रममा कला प्रदर्शनीमा थांका राखिने र बिक्री भएपछि सहयोग गरिने भामले बताए।
'थांका बेचेर एक करोड बढी कमाउन सकेनौं भने पनि एक करोड सहयोग गर्ने घोषणा गर्छु,' भामले भने।
थांका फिल्मको सुटिङ भएको जिल्ला डोल्पाका स्थानीय कलाकर्मीहरूले तयार पारेका हुन्।
भामले आफूलाई समाजसेवामा जोडिन् मन हुने गरेको र बोटो खोज्दै जाँदा यो आइडिया फुरेको समेत बताए।
उनले आफ्नो फिल्मको कथा पनि सक्कली थांकाहरूबाट सुरू हुने उनले जानकारी दिए।
कार्यक्रममा डा. भगवान कोइरालाले निर्देशक भामलाई धन्यवाद दिँदै नेपालमा स्तरीय फिल्म निर्माण गर्ने निर्देशक, निर्माता, कलाकार छन् भन्ने 'शाम्बाला' ले देखाएकोमा खुसी लागेको बताए।
'शाम्बाला' विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रापछि यही भदौ २८ गतेदेखि नेपाली दर्शकमाझ प्रदर्शनमा आउन लागेको छ। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, कार्म लगायतको अभिनय छ।