दीपक रौनियार निर्देशित फिल्म 'राजागंजः पूजा, सर' को टिजर सार्वजनिक गरिएको छ।
युट्युबमा सार्वजनिक २ मिनेट ३ सेकेण्डको टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरिएको छ।
यो फिल्ममा आशा मगराती मुख्य भूमिकामा छिन्। टिजरमा उनका साथमा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल लगायतका कलाकारहरू फिचर्ड छन्। फिल्ममा गौमाया गुरूङ, घनश्याम मिश्र, पशुपति राई, आरती मण्डल, परमेश्वर कुमार झा, नीरज श्रेष्ठको पनि अभिनय छ।
विभिन्न अन्तर्राष्ट्रिय महोत्सव र हल रिलिज अघि नै फिल्मको विभिन्न देशको राइटस् बिक्री भएपछि निर्देशक रौनियारले खुसी व्यक्त गरेका छन्। उनको 'हाइवे' र 'ह्वाइट सन' पछि यो तेस्रो निर्देशकीय फिचर फिल्म हो।
यो फिल्म भोलि (बिहीबार) भेनिस इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ। इटालीमा हुने प्रिमियरमा निर्देशक रौनियार, अभिनेत्री मगरातीसहितका कलाकार सहभागी हुँदैछन्।
विभिन्न देशमा फिल्मको वितरण अधिकार पनि बिक्री भइसकेको निर्माण टिमले जानकारी दिएको छ। फ्रान्स प्रदर्शनका लागि एआरपी सेलेक्सन कम्पनीले फिल्मको राइटस् किनेको छ। एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित फिल्म ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’ लगायतका फिल्म वितरण गरेको थियो। फिल्मको स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोनले प्रदर्शन अधिकार किनेको छ।
निर्देशक रौनियारको पहिलो फिचर फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो। अर्को फिल्म 'ह्वाइट सन' सन् २०१६ मा भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर फिल्म महोत्सवमा प्रदर्शन हुनका साथै पुरस्कृत समेत भएको थियो। उनको छोटो सिनेमा ‘फोर नाइट्स’ सन् २०२२ मा बर्लिनेल सट्र्समा प्रिमियर भएको थियो।
यो फिल्मले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ। फिल्मको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरूङ र मनिराम पोखरेल तथा तन्हाउसर गेट नर्वेका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।
फिल्मको लेखन दीपक रौनियार, डेभिड बार्कर र आशा मगरातीको हो।