फिल्म 'पूर्ण बहादुरको सारंगी' तिहारको लक्ष्मीपूजामा रिलिज हुने भएको छ। शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गते रिलिज हुने घोषणा गरिएको हो।
लक्ष्मीपूजामा प्रदीप खड्का अभिनीत 'एक्टर' र पल शाह अभिनीत 'मायावी' पनि रिलिज हुँदैछन्। 'पूर्ण बहादुरको सारंगी' पनि सोही मितिमा आउने भएसँगै लक्ष्मीपूजामा बक्स अफिसमा त्रिपक्षीय भिडन्त हुने पक्का देखिएको छ।
'पूर्ण बहादुरको सारंगी' को सार्वजनिक फर्स्टलुकमा फिल्मका मुख्य कलाकार अभिनेता विजय बराल र प्रकाश सपुतलाई देखाइएको छ।
झुस्स दाह्री जुंगामा विजय खुसी देखिएका छन्। प्रकाश सरकारी स्कुलको ड्रेसमा देखिएका छन्। गलामा माला, अनुहारमा अबिरमा देखिएका प्रकाश हातमा मार्कसिट लिएर खुसी हुँदै दौडिरहेका छन्। उनको यो 'परदेशी २' पछिको दोस्रो फिल्म हो।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरूङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जान्बी पौडेल लगायत कलाकारहरूको अभिनय छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।
यो फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो। सोसल–ड्रामा जनरामा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा प्रस्तुत गर्ने जनाइएको छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।
शिवराम श्रेष्ठ छायाँकार रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्।