दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'घरज्वाइँ' ले शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ।
अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको यो फिल्म असार २८ गते रिलिज भएको थियो।
फिल्मले राम्रो व्यापार गर्दै प्रदर्शनको लामो यात्रा तय गरेको हो। क्युएफएक्स चेनको काठमाडौंस्थित सिटी स्क्वायर मल, आइएनआईको एनबी सेन्टर वानेश्वर, लोत्से मल बसपार्क र क्युबक्स बुटवलमा समेत फिल्म प्रदर्शनरत छ।
बिएसआर मुभिज, अस्टनारायण हलमा पनि फिल्मले प्रदर्शनको लामो यात्रा तय गरेको छ। नेपालगञ्जको सिने रोयलमा पनि फिल्मले ५१ औं दिन मनाउन लागेको निर्माता जनक घर्ती मगरले बताए।
उनका अनुसार फिल्मको ग्रस कलेक्सन ६ करोड रूपैयाँ हाराहारी छ।
'सबैको साथले यहाँसम्म आउन सफल भएका हौं। मेहनतका साथ गम्भीर भएर फिल्म बनायौं भने दर्शकको माया पाइने रहेछ,' घर्ती मगरले सेतोपाटीसँग भने।
निर्माण टिमले शनिबार एक कार्यक्रम गरेर खुसी साट्ने तयारी गरेको छ।
'घरज्वाइँ' मगर समुदायको कथामा बनेको फिल्म हो। यसमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा मगर, कविता आले मगर, अनु थापा लगायत कलाकारहरूको अभिनय छ।